च्याटको क्याटवाक भाषा
-धीरकुमार श्रेष्ठ
च्याटको भाषा क्याटवाक गर्दै चरन खोज्न गएको कसले देख्ने ? नेपालीबाट सुरु भएर घरि अँग्रेजी पुगेको छ त घरि हिन्दीमा । भाषाको दोहोलो काढिएको गाईजात्रा हेर्न परे अन्त होइन साईबर क्याफे पुग्दा हुन्छ । भाषाको खिचडी पकाइएको हुन्छ । नपकाउन पनि किन ? भाषाले खोज्ने सजिलो हो । अप्थ्यारो देखे तीन हात परै तर्सेर भाग्छ । हिज्जे बिगारेर लेख्नु, कहिले रोमनमा त कहिले अँग्रेजीमा लेख्नु, शब्दको संक्षिप्त रुप लेख्नु, क्यापिटल लेटरमा लेख्दा लेख्दै स्मल लेटरमा लेख्नु, च्याटका क्याटवाक हुन् । भाषाको हरिबिजोग देखेर एकजना साईबर जंकीसँग जंगिदै सोधेको त झन्डै मंकी बनाइहाले । धन्न जसोतसो जोगिएँ ।
मेरो प्रश्न थियो " होइन हो भाइ , भाषाको चिरहरण किन गरेको ? आफ्नो भाषालाई माया गरेर पनि च्याट गर्न सकिन्न र ? जेको पनि नकरात्मक रुप अपनाउन परिहाल्छ ? स्वीक्रित रुप चाहिँ लिदै नलिने बिक्रित रुप चाहिँ छाड्दै नछाड्ने ? यो के चाला हो ? " ब्रेकडान्सको शैलीमा दस ठाउँ शरीर भाँच्दै काँचै खाउँलाझैं गरी उनी त गीत पो गाउन थाले, " होइन ब्रो, मलाई भाइ भन्ने तपैं को ? मेरा ममड्याडको त म एक्लो छोरो । अर्को कहाँबाट आयो ब्रो ? कि मेरा ममड्याडले बाहिरबाहिरै आआफ्ना राखेका छन हो ब्रो ? त्यसो हो भने भन म मेरा ममड्याडलाई सोध्छ हो ब्रो । " आँखै अगाडि औंला नचाएर घोचुँलाझैं गरी उनी साँच्चैको ब्रेकडान्स पो गर्न थाले । छातेटोपीको छातापछाडि फर्काएर कम्मरभन्दा ६ इन्च तल बाँधेका पतलुन झर्लाजस्तो भाईसक्यो साथी त एकहोरो लागेका छन-छन । बिसाउने नामै लिदैनन । अब यिन्ले पतलुन झारेर बिजोग पार्ने भए भन्ने लागेपछि सकेसम्मको बिनीत स्वरमा आत्मसमर्पण गरें ।
मेरो आत्मसमर्पण पछि उनका रिसाएक दुर्बासा केही शान्त भए तर शरीर भने मर्किरहेकै थियो । बोले, " ओ ब्रो, तपैं भाषाको ठेकेदार हो कि बिदेशी एजेन्ट अथवा जासुस ? हाम्ले जस्तो सुकै बोलोस्, जे सुकै लेखोस् तपैलाइ के मतलब ? अनि छिटोछिटो लेख्न परेपछि बुझ्ने जति मात्रा लेख्दा तपैंलाई के को टाउको दुखाइ हो ब्रो ? हामी अश्लील लेखुँ कि छाडा लेखुँ, हाम्ले सन्टुष्टी र मनोरञ्जन पाए भएन ? तपैंको घरखेत खाइदे को छैन क्यारे ब्रो । शब्दको अर्थ नबुझे सोधिन्छ, बुझे फटाक से जवाफ दिइन्छ । अनि त भएन सब कुरा ठीक ? "
ब्रेकडान्स गर्दैगर्दै अलि पर पुगेका उनी झम्टिदै आइहाले, " अरुले जे-जे गर्यो, त्यै-त्यै गर्नुपर्छ भन्ने काँ लेखेको छ हो ब्रो ? हामी त आफ्नो नाम पनि ढाँट्छ, ईमेल एड पनि ढाँट्छ । अझ सुन्छौ ? केबिनमा बसेका सँग च्याट गरे पनि अमेरिका, जापानको धाक लाउँछ हो ब्रो । अब बुझ्यौ ब्रो ? " यीसँग नसकिने रहेछ । पक्का भयो । कसैले सम्झाउँदा पनि नसम्झिने कसमा खाएरइ यस धर्तीमा आएका रहेछन । शंका गर्ने ठाउँ बाँकी रहेन । एक मन त भयो अब झर्छ तब झर्छ भएको पतलुन तानिदिएर कुलेलम ठोकुँ । तर तुरुन्तै सम्झें, देख्दा फुकिढल भए पनि बंगारासंगारा झार्न के बाँकी राख्लान र ? अनि लुसुक्क आफ्नो बाटो लागें । उनी ब्रेकडान्स गर्दै थिए ।